फ्रान्सको दक्षिणी शहर निसमा फ्रान्सेली क्रान्तिको सम्झनामा मनाइरहेको एक भव्य कार्यक्रममा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउंदा ८४ जनाको मृत्यु भएको समाचारले संसारमा सबैलाई चकित र त्रसित पारेको छ ।
फ्रान्सको दक्षिणी शहर निसमा फ्रान्सेली क्रान्तिको सम्झनामा मनाइरहेको एक भव्य कार्यक्रममा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउंदा ८४ जनाको मृत्यु भएको समाचारले संसारमा सबैलाई चकित र त्रसित पारेको छ ।
उपस्थित मानिसले उल्लासमय वातावरणमा यस्तो घटना होला भनेर सोचेका पनि थिएनन् शायद । तर कार्यक्रमस्थलमा छिरेको लोरीको माध्यमबाट यति ठूलो दुर्घटना निम्तियो । हामी सबै स्तब्ध छौं यो निन्दनीय र अमानवीय घटनाप्रति ।
तर पनि जब समाचार प्रसारण गरिन्छ, तब विश्वका मानिसबीच केवल मानवीय समवेदना जागरुक हुने कुरालाई मात्र दिनौंदिन त्यसैमा खर्चिइन्छ । त्यसपछि अनुसन्धान र खोजको हवाला दिंदै सम्बन्धित व्यक्ति फलाना भएको, उसको जन्म यतात्यता भएको, उसको संलग्नता योत्यो संगठनमा भएको र आक्रमणकारी पश्चिमा विरोधी भएको आदि प्रचारमा रातदिन खर्चिइन्छ ।
मानिसमा यो या त्यो समुदायको वा यो वा त्यो क्षेत्रको भएको वा यो वा त्यो संगठनको भएको भनेर निश्चित समुदाय, निश्चित क्षेत्रका मानिस वा केही फरक विश्वास राख्ने मानिसका बीचमा बायस वा पूर्वाग्रहको खेती सुरु गरिन्छ ।
अरु देशहरुमा विज्ञापनको ओइरो लगाइन्छ । ती देशका ठूला पत्रपत्रिकाले ‘फलोअप’ कोे अवधारणा वा पत्रकारिताको मान्यता (त्यो पनि पश्चिमा राष्ट्रहरुले आफ्नो अनुकूल हुने गरी प्रतिपादन गरेका हुन्) भन्दै महिनौ दिन जस्ताको त्यस्तै छाप्छन् ।
त्यसमा न प्रतिक्रिया छ । न त विवेक प्रयोग गरिएको छ । न त मानव जातिलाई हित हुने कुरा नै । केवल पूर्वाग्रह, दुराग्रह र दाता वा अतिक्रमणकारीहरुको फलोअप । फ्रान्सको निससहरमा आक्रमण भएपछि त्यहांका राष्ट्रपति फ्राङ्कोइस होल्यान्डेले जवाफ के दिए त ? उनले यस हमलालाई आतंकवादी आक्रमणको संज्ञा दिंदै ‘सिरिया तथा इराकमा फ्रान्सको कारबाही जारी नै रहने’ हुंकार गरे । देशमा आफ्नो शासनसत्ता लम्ब्याउन ‘गत वर्षदेखि जारी आपतकाल तीन महिना अरु बढाउने घोषणा’ गरे ।
कुरो त स्पष्ट नै छ । फ्रान्सेली निर्दोष जनताले उनीहरुको देशका शासकहरुको साम्राज्यवादी चुसाहा र अतिक्रमणकारी नीतिका कारणले अन्जानमा र अनाहकमा ज्यान गुमाउनु परिरहेको छ ।
त्यसैले अब पश्चिमा देशहरुमा रहेका शिक्षित र विकसित भनिने तर बाहिरी संसारबाट अनभिज्ञ रहेका मानिसहरुलाई प्रतिशोधको कोणबाट होइन, बरु मानवीय कोणबाट जागरुक बनाउनु जरुरी छ । तिनीहरुले जीउने गरेको मादकतापूर्ण जीवन तिनका शासकहरुले उन्मादकताकासाथ गरीब देशहरुबाट लुटेर लिएको धनले बनेको हो । त्यसैले ‘तिमीहरु बेलैमा सचेत बन र अनाहकमा तिम्रा जीवन चुंडाउन लगाउने तिम्रा शासकविरुद्ध लड’ भनेर सन्देश पुर्याउन जरुरी छ ।