काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ ।
यद्यपि उनको अवस्था अझै खतरामुक्त भने भइनसकेकोले भेन्टिलेटरमा नै राखेर उपचार गराईने चिकित्सकहरुले जनाएका छन् ।
कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपचारमा संलग्न डा.लब जोशीले स्वास्थ्यमा उल्लेखीय सुधार आएको र मान्छे चिन्न थालेको बताएका छन् ।
यसअघि बुधबार अचेत रहेका डा.कोइरालाले बिहीबार भने चिकित्सकहरुले बोलाउदा थाहा पाउने र टाउको हल्लाउन थालेको उनले बताए ।
कोइरालाको स्वास्थ्यमा सुधार आएपछि औषधी र अक्सिजनको मात्रा घटाइएको छ । उनको स्वास्थ्यमा यही मात्रामा सुधार आए अब दुई दिनमा भेन्टिलेटरबाट निकाल्न सकिने चिकित्सकहरुको भनाई छ ।
मंगलबार बेलुका स्वास्थ्यमा समस्या भएपछि कोइरालालाई उपचारका लागि चाबाहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो ।